काठमाडौं । पुराना राजनीतिक दलहरुप्रति कटाक्ष गर्ने सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने नरम बन्न थालेका छन् ।
चुनावी माहोल र त्यसपछिका सरकार गठनको सुरुवाती दिनमा पूराना दल र परम्पराप्रति रास्वपा आक्रामक थियो, आक्रामक थिए रवि पनि । तर पछिल्ला दिनमा सभापति रविले आफ्नै पूरानो मान्यता र परम्परालाई चुनौती दिँदै नरम देखिन थालेका छन् ।
शुक्रबार रविले एक अर्काबिच विपरित देखिने दल नेपाली कांग्रेसको संघर्षको उदाहरण आफ्ना कार्यकर्ताहरुमा दिए । आफ्नो निर्वाचन क्षेत्र चितवनमा पुगेका लामिछानेले कांग्रेसको पञ्चायतकालीन संघर्षबारे कार्यकर्ताहरुलाई स्मरण गराउँदै निर्वाचनको भन्दा परिवर्तनको चिन्ता गर्न आग्रह गरे ।
आसन्न स्थानीय निर्वाचनका लागि क्यानिडेट क्लब चलाइरहेको रास्वपामा वडा तहमा बसेर काम गर्नेहरु कम देखिएपछि रवि आक्रोशित समेत भए । केन्द्रमा दुई तिहाइको सरकार बनेपछि पार्टीका नेता कार्यकर्तामा महत्वकांक्षा देखिएको भन्दै लामिछानेले एकैपटक माथि पुग्ने भन्दा संघर्ष जारी राख्न निर्देशन दिए ।
उनले ०१५ सालमा नेपाली कांग्रेसले पहिलो आम निर्वाचनबाट दुई तिहाइको सरकार बनाएको र त्यसको तीस वर्षसम्म सत्ता भन्दा बाहिर रहेको उदाहरण दिए । रविले त्यति मात्र भनेनन्, ०१७ सालबाट लादिएको निरंकुश र निर्दलीय पञ्चायती व्यवस्थाको संघर्षमा निरन्तर लागेपछि मात्रै सफलता हात परेको स्मरण गराए ।
कांग्रेस मात्र होइन, पञ्चायतका ती दिनहरुमा कम्युनिष्ट पार्टीका नेताहरुले गर्नुपरेको संघर्षको इतिहास स्मरण गर्न समेत रविको निर्देशन थियो । साथै त्यस बेलाका नेताहरुले ‘केही प्राप्त गर्छु’ भन्ने चाहना भन्दा परिवर्तनको हुटहुटी बोकेका कारण प्रजातन्त्र, लोकतन्त्र हुँदै आज गणतन्त्र र संविधानसम्म आइपुगे ।
‘तपाईँहरुलाई उदाहरण दिन्छु नेपाली कांग्रेस २०१५ सालमा सरकारमा गयो, त्यसपछि ०४६ ०४७ सालसम्म ३० वर्ष नेपाली कांग्रेस सरकारमा गएन । तर ती मानिसहरुले संघर्ष निरन्तर गरिरहे, निरन्तर लागिरहे । तिनलाई थाहा थिएन, त्यत्रो शक्तिशाली पञ्चायत ढल्छ कि ढल्दैन ? तर तिनीहरुले अनवरत संघर्ष गरिरहे,’ इतिहासबारे स्मरण गर्दै रविले भने, ‘कम्युनिष्ट पार्टीका नेताहरुको म उदाहरण दिन्छु, हिजो थाहा थिएन निर्वासित बस्नुपर्ने कस्तो परिस्थितिबाट उनीहरु गुज्रिए । के तपाईँ हामीजस्तो टिकट पाइएन भने त म त छाड्दिने हो, म त हराउने हो यस्तो राजनीतिक विचलन ४ वर्षभित्र आएको भए यो देशमा यो देशमा प्रजातन्त्र आउँथ्यो ? यो देशमा लोकतन्त्र आउँथ्यो । निष्ठामा अडिग छैन भने राजनीतिमा लाग्नु छैन ।’
यसैगरी सभापति लामिछानेले आज १८२ सिट पार्टीले जिते पनि भोलिको दिनमा शून्य सिट हुँदा पनि जनताको काम गर्छु भन्ने भावना बोक्न निर्देशन दिए ।
‘सफलता त आज प्राप्त भएको छ । आज १८२ सिटका भएका छौँ । भोलि के २ सिट के जिरो सिटको हुँदाखेरी पनि राजनीति जित्नुपर्छ चुनाव, चुनाव जित्नु ठूलो कुरा होइन साथीहरु,’ उनले भने ।
रास्वपाले आन्तरिक प्रतिष्पर्धाबाट स्थानीय तहको उम्मेदवार छनोटका लागि विभिन्न मापदण्डहरु बनाएको छ । तर उम्मेदवारका लागि वडामा भन्दा पालिकामा बढीको आकांक्षा देखिएको भन्दै लामिछानेले वडाको चुनाव लड्न कोही तयार नहुने हो भने बरु आफैँ चुनाव लड्न आउने टिप्पणी गरे ।
‘अब यो वडामा चुनाव लड्न त मै राजीनामा दिएर आफैँ वडाध्यक्ष उठ्न आउनुपर्ला जस्तो छ । हाम्रो मान्छे वडाध्यक्ष हेर्दैनन् एकैपटक पालिका हेर्ने हो, माथि हेर्ने हो तल हेर्दैनन् हाम्रा साथीहरु । यहाँ वडाध्यक्ष हुन मन छैन कसैलाई पनि । कहाँ त्यस्तो वडाध्यक्ष हुने ! हुन्छ, अब मै आउँला वडाध्यक्ष हुन, तपाईँहरु त धेरै ठूलो हुन थाल्नुभयो,’ उनले भने, ‘मैले त एप्लिकेशन वडाध्यक्षमा हालेको देखिन्, एकैपटक मेयर हो, कहाँ त्यस्तो वडाध्यक्ष हुने ? अर्कोपटक प्रदेशमा हाल्नुपर्छ एकैपटक माननीय हुने, त्यस्तो वडा सोडा कस्ले हेर्छ । देशै बनाउने हो, वडा कसले बनाउने हो र ? होइन ?’
तल्लो तहमा बसेर काम नगर्ने प्रवृत्तिले रास्वपामा पनि अवसरको राजनीतिले प्राथमिकता पाउन थालेको उनको टिप्पणी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया