राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, संसद् अधिवेशन आह्वानबारे छलफल

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।

सभामुखको सचिवालयका अनुसार भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा धेरैभन्दा धेरै बहस र छलफल हुनुपर्नेमा जोड दिएका थिए । संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीबारे समेत चासो राखेका थिए ।

भेटमा सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलपछि संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

त्यसैगरी, सभामुख अर्यालले संघीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका संघ ९आईपीयू० अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे पनि जानकारी गराएका थिए ।

तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा समेत उनले राष्ट्रपति पौडेललाई अवगत गराएका थिए ।

यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभा पदाधिकारीहरूसहित राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि सभामुख अर्यालले जानकारी गराएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?