काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ आएका थिए ।
उक्त भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए । साथै, उहाँले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे ।
भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो। उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गरेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
त्यसो त मिस्रीले आजै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँग समेत भेटघाट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री बालेनले हालैको विनाशकारी बाढी र त्यसपछि भारतले गरेको सहयोगप्रति प्रशंसा गरे । मिस्रीले भने आसन्न प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया