सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने

लोकपथ
21
Shares

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेको सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखाको सेवा अब बट्टारबाट सञ्चालन हुने भएको छ ।

बैंकले विदुर नगरपालिका–२, बट्टारमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट बट्टार शाखा करिब ७ किलोमिटरको दूरीमा रहेको छ ।

बट्टारमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा पोखरेलले देवीघाट शाखा पूर्ण रूपमा क्षति भएपछि स्थानीय ग्राहकलाई सहज र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बताए । उनले कठिन परिस्थितिमा पनि शाखा सञ्चालन गर्न सफल कर्मचारीहरूको प्रशंसासमेत गरे ।

भदौ १० गते आएको बाढीले देवीघाट शाखामा पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । यद्यपि, शाखामा कार्यरत सबै कर्मचारी सुरक्षित रहन सफल भएका थिए ।

नयाँ शाखामार्फत बैंकले व्यक्तिगत तथा व्यावसायिक ग्राहकलाई आवश्यक पर्ने सम्पूर्ण रिटेल बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ । साथै, साना तथा ठूला व्यवसायीलाई वित्तीय सेवाको पहुँच विस्तार गर्ने बैंकको लक्ष्य छ ।

यसैबीच, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) र मधुमेह परीक्षणलगायतका सेवा उपलब्ध गराइनेछ ।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?