मंसिर १७ देखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने, २०० भन्दा बढी स्टल रहने

लोकपथ
21
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ ।

मेलामा स्वदेशी तथा विदेशी वस्तु र सेवाका २०० भन्दा बढी स्टल रहनेछन् । चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायत विभिन्न देशका व्यवसायी तथा प्रदर्शक सहभागी हुने महासंघले जनाएको छ । मेलामा करिब एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

नेपाल सरकार र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा आयोजना हुने मेलामा ‘मेड इन नेपाल’ र विद्युतीय सवारीसाधनका लागि छुट्टाछुट्टै पेभेलियन रहनेछन्। नेपाली हस्तकला, चिया, कफी, अलैंची, अदुवा, गलैँचा, पश्मिना, नेपाली कागज तथा तयारी पोशाक मुख्य आकर्षणका रूपमा रहनेछन् ।

त्यस्तै, कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, शिक्षा, औषधि, निर्माण तथा अन्य क्षेत्रका वस्तु र सेवासमेत प्रदर्शन गरिनेछ । विदेशी प्रदर्शकले नयाँ प्रविधि, उपकरण, खाद्य सामग्री, फर्निचर, फेसन तथा घर सजावटका सामग्री राख्नेछन् ।

मेलाको मुख्य उद्देश्य नेपाली उत्पादनको प्रचारप्रसार, निर्यात प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तार गर्नु रहेको महासंघले जनाएको छ । यसका लागि नेपाली उत्पादक र विदेशी खरिदकर्ताबीच प्रत्यक्ष भेटघाट, व्यापारिक छलफल तथा लगानीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ । नेपाली र चिनियाँ व्यवसायीबीच पनि विशेष अन्तरक्रिया हुनेछ ।

यसैगरी, विभिन्न प्रदेश तथा जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट ठहरिएका उत्पादन र स्टललाई अन्तर्राष्ट्रिय व्यापार मेलामा निःशुल्क स्टल उपलब्ध गराइने महासंघले जनाएको छ । यसबाट स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महासंघका अनुसार मेलाले विदेशी लगानी र प्रविधि भित्र्याउन तथा नेपाली उत्पादनको बजार विस्तार गर्न सहयोग पुर्‍याउनेछ ।

मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?