सिद्धार्थ बैंकको नाफामा ऐतिहासिक वृद्धि, खराब कर्जा पनि घट्यो

लोकपथ
28
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद नाफा १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड ४० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

    बैंकको नाफा बढ्नुको मुख्य कारण कर्जा जोखिम व्यवस्थापन खर्च घट्नु र ब्याज आम्दानी बढ्नु हो । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ८७ लाख रुपैयाँ रहेको जोखिम व्यवस्थापन खर्च यस वर्ष घटेर ६७ करोड १८ लाख रुपैयाँमा झरेको छ ।

    यसैगरी, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी पनि १०.५३ प्रतिशतले बढेको छ । गत वर्ष २ अर्ब १६ करोड रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष बढेर २ अर्ब ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

    बैंकले शुल्क तथा कमिसनबाट गर्ने आम्दानी पनि १०.७१ प्रतिशतले बढाएर ५७ करोड रुपैयाँ पुर्‍याएको छ । यससँगै बैंकको कुल सञ्चालन आम्दानी ७.५३ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

    आम्दानी बढ्नु र जोखिम व्यवस्थापन खर्च घट्नुको प्रभाव बैंकको सञ्चालन मुनाफामा पनि देखिएको छ । समीक्षा अवधिमा सञ्चालन मुनाफा १४८.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत वर्ष ७ रुपैयाँ ८२ पैसा रहेको ईपीएस यस वर्ष बढेर १८ रुपैयाँ ७६ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६१ पैसा रहेको छ ।

    वितरणयोग्य नाफामा पनि बैंकले सुधार गरेको छ । गत वर्षको पहिलो त्रैमासमा २२ करोड १६ लाख रुपैयाँ घाटामा रहेको वितरणयोग्य नाफा यस वर्ष २७ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

    यसैगरी, ऋणपत्र परिपक्व भएपछि पुँजी समायोजन कोषमा रकम स्थानान्तरण हुँदा बोनस सेयर वितरणका लागि उपलब्ध कुल वितरणयोग्य कोष ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो रकम १ अर्ब ६१ करोड ६३ लाख रुपैयाँ थियो ।

    बैंकको खराब कर्जा अनुपात पनि केही घटेको छ । गत वर्ष ३.८० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३.७० प्रतिशतमा झरेको छ ।

    व्यवसाय विस्तारतर्फ बैंकले कुल कर्जा लगानी ४.२३ प्रतिशतले बढाएर २ खर्ब ४४ अर्ब ४ करोड रुपैयाँ पुर्‍याएको छ । बैंकको कुल निक्षेप ३ खर्ब ३४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

    समीक्षा अवधिसम्म बैंकको चुक्ता पुँजी १९ अर्ब ७७ करोड ३० लाख रुपैयाँ र रिजर्भ कोषमा १५ अर्ब ८३ करोड १२ लाख रुपैयाँ रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?