गेमिङ र आईटी उद्योगलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको घोषणा

लोकपथ
21
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट र सूचना प्रविधि (आईटी) उद्योगलाई प्रोत्साहन गर्ने बताएका छन् ।

उनले नेपाली गेम तथा आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण बनाउने बताएका हुन् । यसका लागि आवश्यक नियम र नीतिमा सुधार गरिने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहका अनुसार नेपालमै बनेका गेमिङ एपले अन्तर्राष्ट्रिय बजारमा राम्रो सफलता पाएका छन् । विश्वभर चर्चित लुँडो गेम करिब २० करोड पटक र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको उनले उल्लेख गरेका छन् ।

नेपालमा सयौँ युवा गेमिङ एप निर्माणमा सक्रिय रहेको भन्दै उनले उनीहरूका समस्या बुझेर समाधानका लागि छलफल गरिएको बताएका छन् ।

उनले आईटी क्षेत्रबाट हुने आम्दानी र निर्यातलाई थप बढाउन कर प्रणाली सहज बनाउने तथा नीतिगत सुधार गर्ने बताए । साथै, अन्तर्राष्ट्रिय बजारबाट हुने आम्दानीसम्बन्धी नियमलाई पनि सरल बनाइने उनको भनाइ छ ।

गेम डेभलपमेन्ट र आईटी क्षेत्रको विकासका लागि गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथोन तथा विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने प्रधानमन्त्रीले बताएका छन् ।

यसका साथै राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग नियमित छलफल गरी समग्र आईटी तथा गेमिङ उद्योगलाई सहयोग पुग्ने वातावरण निर्माण गरिने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?