एनपीएलका प्रत्येक चौका र छक्काबापत ‘इसेवा’ ले रेड पान्डा संरक्षणमा सहयोग गर्ने

लोकपथ
35
Shares

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत रेड पान्डा (हाब्रे) संरक्षणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत २ हजार रुपैयाँ र प्रत्येक चौकाबापत १ हजार रुपैयाँ सहयोग गर्नेछ । यस अभियानमा करसहित अधिकतम १० लाख रुपैयाँसम्म योगदान गरिनेछ ।

‘एभ्री बाउन्ड्री काउन्ट्स’ नाम दिइएको यो अभियान इसेवा, रेड पान्डा नेटवर्क र रेड पान्डा नेटवर्क नेपालको सहकार्यमा सञ्चालन हुन लागेको हो । इसेवा एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत हो ।

अभियानबाट सङ्कलन हुने रकम रेड पान्डाको प्राकृतिक बासस्थान संरक्षण र पुनर्स्थापनामा खर्च गरिनेछ । साथै, स्थानीय समुदायका मानिसलाई रोजगारीसमेत उपलब्ध गराइनेछ ।

यस अभियानअन्तर्गत इलाम र पाँचथरका सामुदायिक वनमा सन् २०२७ को जुन-जुलाईमा वृक्षरोपण तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना छ । उक्त कार्यक्रममा करिब १० हेक्टर क्षतिग्रस्त वन क्षेत्र पुनर्स्थापना गर्ने र स्थानीय प्रजातिका १० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी, स्थानीय समुदायका लागि करिब ६०० श्रमदिन बराबरको रोजगारी सिर्जना गरिनेछ । रोजगारीमा महिलालाई प्राथमिकता दिइने बताइएको छ ।

इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले क्रिकेटप्रतिको जनताको उत्साहलाई प्रकृति संरक्षणसँग जोड्ने उद्देश्यले अभियान सुरु गरिएको बताए । उनले यसबाट जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पा र रेड पान्डा नेटवर्क नेपालका अध्यक्ष डा। शैलेन्द्रबहादुर थकालीले पनि यस सहकार्यले रेड पान्डाको बासस्थान संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

रेड पान्डा सङ्कटापन्न वन्यजन्तु हो । यसको संरक्षणका लागि प्राकृतिक बासस्थान सुरक्षित राख्नु र वन क्षेत्र पुनर्स्थापना गर्नु आवश्यक मानिन्छ ।

एनपीएल अवधिभर प्रहार भएका चौका र छक्काबाट जम्मा भएको सहयोग रकमको विवरण इसेवाले आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?