चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो ।
यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए । नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी एक सय वृद्धि भएको छ ।
अध्यक्ष पोखरेलले ६ कात्तिकमा तीन हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब तीन हजार ९०० पुगेको छ । १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य तीन हजार ६०० बाट बढेर तीन हजार ८०० पुगेको छ । १२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य तीन हजार ५०० बाट बढेर तीन हजार ७०० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
एघार किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने तीन हजार १०० बाट बढेर तीन हजार २०० पुगेको छ । उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा २५ र मिडियम अण्डाप्रति दुई वटाको ४५ कायम गरिएको छ ।
फार्म मूल्य प्रतिपेटी २०० बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए । पर्वहरुसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया