साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट आठ लाखको खाद्यान्न बिक्री

लोकपथ
0
Shares

बागमती । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ ।

सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयबाट नुन, चिनी, तेल र मैदा छुट मूल्यमा बिक्री गर्दै आएकोमा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणलाई समान रूपमा छुटको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराइएको थियो ।

बजारको प्रचलित मूल्यभन्दा प्रतिकिलो चिनीमा पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ तथा प्रतिलिटर तेलमा सात रुपैयाँ छुट दिइएको अधिकारीले बताए ।

कार्यालयका अनुसार उक्त अवधिमा ५० किलोका ६० बोरा चिनी, १० क्विन्टल नुन, सात क्विन्टल पिठो तथा मैदा र ५०० लिटर तेल बिक्री भएको छ ।

चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट खाद्यान्न बिक्री गर्ने कार्यक्रम कात्तिक मसान्तसम्म जारी रहने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी गत असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कर्पोरेसनले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?