काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको १९ करोड ७५ लाख रुपैयाँको तुलनामा १६ प्रतिशतभन्दा बढीले वृद्धि हो ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सुधार भएको छ । गत वर्षको पहिलो त्रैमासमा २० रुपैयाँ रहेको ईपीएस चालु आर्थिक वर्षमा बढेर २३ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ६२ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा करिब १ प्रतिशत बढी हो । बैंकको कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख रुपैयाँ र सञ्चालन नाफा ३३ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ११ करोड २ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफामा पनि वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा १३ करोड ५२ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा यस वर्ष बढेर १५ करोड २१ लाख रुपैयाँभन्दा बढी पुगेको छ । यससँगै बैंकको वार्षिक लाभांश क्षमता १५.७६ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यस्तो क्षमता करिब १४ प्रतिशत थियो ।
बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड रुपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोषमा २ अर्ब २२ करोड रुपैयाँभन्दा बढी रकम छ । असोज मसान्तसम्म बैंकले ६७ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा निक्षेप २ प्रतिशतभन्दा बढी र कर्जा लगानी करिब ४ प्रतिशतले बढेको हो ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपातमा समेत सुधार आएको छ। गत वर्ष असोजमा ४ प्रतिशतभन्दा बढी रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षमा घटेर करिब ३ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेसँगै कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम पनि घटेको छ। गत वर्ष ११ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरिमेन्ट चार्ज यस वर्ष ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात करिब २० गुणा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया