भारी वर्षाको सम्भावना, स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ, हुरीबतास र मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्र पठाउँदै सम्भावित विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको हो ।

मौसम पूर्वानुमानअनुसार कात्तिक १२ देखि १४ गतेसम्म विभिन्न स्थानमा वर्षा हुन सक्नेछ । यसबाट बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

एकाइले सबै प्रदेशमा २४ घण्टा सम्पर्कमा रहने आपत्कालीन सम्पर्क व्यक्ति तोक्न र उनको सम्पर्क विवरण उपलब्ध गराउन भनेको छ ।

त्यस्तै, सम्भावित विपद्का बेला तत्काल उपचार सेवा दिन आकस्मिक चिकित्सकीय टोलीसहित आवश्यक स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । अस्पतालमा उपलब्ध औषधि, स्वास्थ्य सामग्री, उपकरण र एम्बुलेन्सको विवरण पनि अद्यावधिक गर्न भनिएको छ ।

विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन एम्बुलेन्स सेवा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

यसका साथै, स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गर्न र स्वास्थ्यसँग सम्बन्धित घटनाको विवरण दैनिक रूपमा अनिवार्य पठाउन सबै प्रदेशका केन्द्रलाई आग्रह गरिएको छ ।

सम्भावित विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन, आवश्यक जनशक्ति तथा औषधिको व्यवस्था मिलाउन र प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्‍याउन एकाइले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?