काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको उद्घाटन गरेका हुन् ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनको तयारीसँगै जनतासँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो। अभियानका क्रममा सरकारले गरेका जनविरोधी कामको भण्डाफोर गर्ने पनि उनले बताए ।
ज्वालाका अनुसार अभियान आजदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ। अभियानसँगै आगामी स्थानीय तह निर्वाचनअघि वडा र पालिका अधिवेशनसमेत गरिने पार्टीले जनाएको छ ।
नेकपाले अभियानका लागि १९ बुँदे उद्देश्य सार्वजनिक गरेको छ। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार, सुशासन, सामाजिक न्याय र जनजीविकाका सवालमा जनतालाई सचेत बनाउने अभियानको मुख्य उद्देश्य रहेको छ ।
अभियानमार्फत महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति र असुरक्षाविरुद्ध जनताको आवाज संगठित गर्ने पार्टीको लक्ष्य छ । त्यस्तै, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि पहल गर्ने पनि उद्देश्यमा उल्लेख छ ।
संगठनात्मक रूपमा पार्टी सदस्यता नवीकरण तथा विस्तार, बाँकी संगठनात्मक समायोजन, वडा र पालिका तहसम्म संगठन विस्तार तथा पार्टी कार्यालय स्थापना गर्ने योजना नेकपाले अघि सारेको छ ।
यसैगरी, आगामी महाधिवेशनका लागि पार्टी सदस्य, शुभेच्छुक र सर्वसाधारणबाट राजनीतिक, वैचारिक, संगठनात्मक, आर्थिक तथा कार्यशैलीसम्बन्धी सुझाव संकलन गरिनेछ । पार्टीको प्रचार, प्रकाशन र डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी बनाउने तथा महिला, युवा, विद्यार्थी, श्रमिक, किसानलगायत विभिन्न समुदायको सहभागिता र नेतृत्व विकासमा जोड दिने पनि पार्टीले जनाएको छ ।
अभियानका क्रममा विभिन्न राजनीतिक दल तथा शक्तिहरूको अवस्था, प्रभाव र जनआधारको अध्ययन गरी आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि रणनीति तयार गर्ने नेकपाको योजना छ । पार्टीको राजनीतिक विचार र कार्यक्रम स्पष्ट पार्दै निर्वाचनको तयारी अघि बढाउने पनि अभियानको उद्देश्य रहेको छ ।
नेकपाको राष्ट्रिय जागरण अभियानका १९ उद्देश्य
१. राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणका लागि जनजागरण सिर्जना गर्ने ।
२. लोकतान्त्रिक अधिकार, गणतन्त्र, संविधान, विधिको शासन, सुशासन र सामाजिक न्यायका विषयमा जनमत निर्माण गर्ने ।
३. महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी र जनविरोधी गतिविधिविरुद्ध जनताको आवाज संगठित गर्ने ।
४. राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाबारे जनतालाई सचेत बनाउने ।
५. प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि पहल गर्ने ।
६. पार्टी सदस्यता नवीकरण गरी अभिलेख व्यवस्थित बनाउने ।
७. नयाँ सदस्यता विस्तार गरी योग्य व्यक्तिलाई पार्टीमा संगठित गर्ने ।
८. पार्टी तथा जनवर्गीय संगठनको समायोजन पूरा गरी संगठनलाई सक्रिय र व्यवस्थित बनाउने ।
९. टोल तथा बस्तीसम्म राजनीतिक प्रशिक्षण र जनसम्बन्ध विस्तार गर्ने ।
१०. आगामी महाधिवेशनका लागि पार्टी सदस्य तथा जनताबाट विभिन्न विषयमा सुझाव संकलन गर्ने ।
११. जिम्मेवारी निर्धारण, कार्यसम्पादन, अनुगमन र मूल्यांकन प्रणाली विकास गर्ने ।
१२. बाँकी जिल्ला, पालिका तथा वडा तहमा पार्टी कार्यालय स्थापना गर्ने ।
१३. वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रबीच नियमित रिपोर्टिङ प्रणाली लागू गर्ने ।
१४. पार्टीको प्रचार, प्रकाशन र डिजिटल सञ्चार प्रणालीलाई आधुनिक तथा प्रभावकारी बनाउने ।
१५. महिला, युवा, विद्यार्थी, श्रमिक, किसान तथा विभिन्न सामाजिक समुदायको सहभागिता र नेतृत्व विकासमा जोड दिने ।
१६. देशभक्त, लोकतान्त्रिक तथा वामपन्थी शक्ति, नागरिक समाज र बुद्धिजीवीसँग संवाद र सहकार्य गर्ने ।
१७. विभिन्न राजनीतिक दलको अवस्था, प्रभाव र जनाधारको अध्ययन गरी आगामी निर्वाचनका लागि रणनीति तयार गर्ने ।
१८. पार्टीको राजनीतिक कार्ययोजना, विचार र कार्यक्रमबारे स्पष्ट पार्ने ।
१९. आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारी गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया