कामना सेवा विकास बैंकले ल्यायो एआई ग्राहक सहायता प्रणाली ‘केएस मित्र’

लोकपथ
14
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ ।

बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क केएस मित्र’ आइकन, इमेल तथा ह्वाट्सएपमार्फत ‘केएस मित्र’को सेवा लिन सक्नेछन् । ग्राहकले बैंकको वेबसाइट, [email protected] इमेल वा ९८५१३६०००५ नम्बरको ह्वाट्सएपमार्फत खातासम्बन्धी सोधपुछ, बैंकिङ अनुरोध तथा गुनासो राख्न सक्नेछन् ।

‘केएस मित्र’मार्फत ग्राहकले शाखामा उपस्थित नभई बैंकका विभिन्न सेवा तथा सुविधाबारे जानकारी लिन सक्नेछन् । यसबाट बैंकका शाखा तथा सम्पर्क नम्बर, सेवा तथा सुविधाहरू, ब्याजदर, सेवा शुल्कलगायतका सामान्य जानकारी सहज रूपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकको पहिचान तथा खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबार विवरण, कर्जाको बाँकी रकम, सीआरएन, डिम्याट र केवाईसीलगायतका जानकारीसमेत लिन सकिनेछ ।

त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेसा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने तथा त्यसको अवस्था बुझ्नेजस्ता सेवा पनि ‘केएस मित्र’मार्फत लिन सकिने बैंकले जनाएको छ ।

‘केएस मित्र’मार्फत ग्राहकले खोजेको जानकारी तत्काल उपलब्ध हुन नसकेमा स्वचालित रूपमा टिकट जारी हुने व्यवस्था गरिएको छ । यसले ग्राहकका जिज्ञासा, सेवा अनुरोध तथा गुनासोको फलोअप र समाधान प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बैंकको भनाइ छ ।

बैंकले डिजिटल एआई असिस्टेन्ट ‘केएस मित्र’लाई नेपालको बैंकिङ क्षेत्रमा नयाँ र प्रभावकारी डिजिटल पहलका रूपमा प्रस्तुत गरेको छ । डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार ‘केएस मित्र’ले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ जानकारी प्राप्त गर्न सहज बनाउनुका साथै ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवा सहज बनाउने उद्देश्य बैंकको ‘फ्युचर रेडी’ अवधारणाअनुसार अघि बढाइएको हो । साथै, विशिष्ट बचत खातामार्फत उपलब्ध गराउँदै आएको ‘डोरस्टेप बैंकिङ’ सेवालाई समेत डिजिटल नवप्रवर्तनसँग जोड्ने अवधारणालाई बैंकले प्राथमिकता दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?