अब हुलाक सेवामार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड

लोकपथ
56
Shares

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि यो सेवा सुरु गरिएको हो ।

हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवाको शुभारम्भ गरेका हुन् । उनले हुलाक सेवामार्फत सिमकार्डसमेत प्राप्त गरेका थिए ।

सेवा शुभारम्भ गर्दै मन्त्री तिमल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जाल उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन दिए । उनले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्‍याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवा सुधार गर्दै लैजानुपर्ने बताए ।

हुलाक सेवाको क्षमता विस्तार गरी आगामी दिनमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री पुर्‍याउन सक्ने व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए ।

‘हुलाकको आफ्नै क्षमता र सीमितता छन् । क्षमताको अधिकतम उपयोग गरेर योजनाबद्ध समयभन्दा अगाडि नै सामग्री पुर्‍याउने प्रयास गर्नुपर्छ,’ उनले भने, ‘हुलाक सेवालाई थप प्रभावकारी बनाउँदै यसको क्षमता विस्तार गर्नुपर्छ । भविष्यमा एक–दुई दिन होइन, केही घण्टाभित्रै डेलिभरी गर्न सक्ने क्षमता विकास गर्नुपर्छ ।’

सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यले टेलिकमका सेवा नागरिकको पहुँचमा पुर्‍याउन सहज हुने उनको विश्वास छ ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले यसअघि कार्यालय तथा डिलरमार्फत उपलब्ध हुँदै आएको सेवा अब ग्राहकको घरदैलोसम्म पुर्‍याउन सहज हुने बताइन् । उनले यो सहकार्य कम्पनीका लागि एक कोशेढुंगा भएको उल्लेख गरिन् ।

यस सेवाबाट सहरी तथा सुगम क्षेत्रका साथै सडकको पहुँच नभएका ग्रामीण क्षेत्रमा समेत सिमकार्ड वितरण गर्न सहज हुने उनको भनाइ छ । आगामी दिनमा अन्य सेवासमेत ग्राहकको घरदैलोसम्म पुर्‍याउन आवश्यक काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले ग्रामीण क्षेत्रमा नेपाल टेलिकमका सेवा उपलब्ध गराउन हुलाकको भूमिका महत्त्वपूर्ण हुने बताइन् । उनले आगामी दिनमा अन्य सेवा वितरणका लागि पनि दुई संस्थाबीच सहकार्य गर्न सकिने उल्लेख गरिन् ।

यो सेवा लिन चाहने ग्राहकले esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको ‘Postal SIM Portal’ मार्फत प्रक्रिया अघि बढाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?