अब स्मार्ट टिभीमै एनटीटीभी चलाउन सकिने, सेट-टप बक्स नचाहिने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल टेलिकमले स्मार्ट टिभीमा एनटीटीभी सेवा चलाउन भौतिक सेट–टप बक्स आवश्यक नपर्ने व्यवस्था गरेको छ । कम्पनीले एन्ड्रोइडमा चल्ने स्मार्ट टिभीका लागि ‘भर्चुअल सेट–टप बक्स’ सेवा सुरु गरेपछि ग्राहकले छुट्टै सेट–टप बक्स नजोडी टिभीमै एनटीटीभी हेर्न सक्ने भएका छन् ।

यसका लागि स्मार्ट टिभीमा गुगल प्ले स्टोरबाट ‘स्मार्ट एनटीटीभी’ एप डाउनलोड गरेर इन्स्टल गर्नुपर्छ । एप खोलेपछि नेपाल टेलिकममा दर्ता भएको मोबाइल नम्बर राखेर ओटीपीमार्फत लगइन गरेपछि एनटीटीभी सेवा प्रयोग गर्न सकिन्छ ।

यो सेवा गुगल प्ले स्टोर उपलब्ध भएका र एन्ड्रोइड ५.० वा सोभन्दा माथिको संस्करणमा चल्ने उपयुक्त स्मार्ट टिभीमा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

भर्चुअल सेट–टप बक्ससहित नयाँ वार्षिक एफटीटीएच प्याकेज लिने ग्राहकलाई कम्पनीले १ हजार रुपैयाँ छुटसमेत दिएको छ । हाल ५०, १००, १५० र २०० एमबीपीएसका इन्टरनेट प्याकेजमा बेसिक तथा प्रिमियम एनटीटीभीसहित भर्चुअल सेट–टप बक्सको सुविधा उपलब्ध छ ।

यी प्याकेजमा नेपाल टेलिकमको टेलिफोन सेवासमेत समावेश गरिएको छ । ५० एमबीपीएस इन्टरनेट, बेसिक एनटीटीभी र नेपाल टेलिकमबाट नेपाल टेलिकममा ३ हजार मिनेट कल गर्न मिल्ने वार्षिक प्याकेजको शुल्क छुटपछि ९ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

यसअघि एनटीटीभी चलाउन ग्राहकले भौतिक सेट–टप बक्स लिनुपर्ने थियो । नेपाल टेलिकमको नियमित एफटीटीएच सेवामा भौतिक एनटीटीभी सेट–टप बक्सको शुल्क ३ हजार २३० रुपैयाँ रहेको छ । तर भर्चुअल सेट–टप बक्स चल्ने स्मार्ट टिभीमा भने यस्तो छुट्टै उपकरण आवश्यक पर्दैन ।

भर्चुअल सेट–टप बक्स प्रयोग गर्न स्मार्ट टिभीलाई नेपाल टेलिकमको एफटीटीएच वाइफाइमा जोड्नुपर्छ । त्यसपछि ‘स्मार्ट एनटीटीभी’ एप इन्स्टल गरेर दर्ता भएको मोबाइल नम्बरबाट ओटीपीमार्फत प्रमाणीकरण गरेपछि लाइभ टिभी, चलचित्र तथा विभिन्न कार्यक्रम हेर्न सकिन्छ ।

नेपाल टेलिकमले एफटीटीएचमार्फत एउटै फाइबरबाट इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा दिँदै आएको छ । एनटीटीभी सेवा एफटीटीएच नेटवर्क उपलब्ध भएका क्षेत्रमा प्रयोग गर्न सकिन्छ ।

कम्पनीले हाल बेसिक तथा प्रिमियम एनटीटीभी प्याकेजमा विभिन्न नेपाली टेलिभिजन च्यानल उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा थप स्मार्ट टिभीमा समेत प्रयोग गर्न मिल्ने गरी भर्चुअल सेट–टप बक्स सेवा विस्तार गर्ने तयारी रहेको नेपाल टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?