उद्योगमन्त्री र दक्षिण कोरियाका उच्चायुक्तबीच भेटघाट

लोकपथ
21
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच एक शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा उच्चायुक्तले मन्त्रीलाई नयाँ नियुक्ति भएकोमा बधाई ज्ञापन गर्नुका साथै हालै आएको बाढीपहिरोका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे ।

छलफलमा नेपाल र दक्षिण अफ्रिकाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धमा जोड दिँदै दक्षिण अफ्रिकाको स्वतन्त्रता संग्राममा नेपालले पुर्‍याएको महत्त्वपूर्ण सहयोगको स्मरण गरिएको थियो । दुवै पक्षबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो, जसमा विशेष गरी व्यापार तथा लगानी विस्तार, जलवायु परिवर्तनका चुनौतीहरूको सामना, र बहुपक्षीय मञ्चहरूमा सहकार्य अभिवृद्धि गर्ने कुरामा जोड दिइयो ।

बैठकले दक्षिण अफ्रिकी बजारमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने तथा जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरू खोजी गर्ने विषयलाई विशेष महत्त्व दिएको छ । दुवै देशका व्यवसायीहरूबीच व्यावसायिक सम्बन्ध (business-to-business engagement) स्थापित गर्न, व्यापार तथा लगानी प्रवर्द्धन गर्न, र दुई देशबीचको आर्थिक साझेदारीलाई बलियो बनाउन एक ‘संयुक्त व्यावसायिक मञ्च’ (Joint Business Forum) गठन गर्ने सम्भावनाका बारेमा पनि दुवै पक्षबीच छलफल भएको थियो ।

भेटवार्ताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र पारस्परिक हितका सहकार्यहरूलाई अघि बढाउन दुवै देशको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?