‘वैदेशिक नियोगहरू केवल प्रशासनिक अड्डा मात्र होइन लगानी र प्रविधिका केन्द्र बनाउनुपर्छ’

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कुटनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

आइतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय र वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउनुपर्ने बताएका हुन् ।

मन्त्री खनालले सीमित स्रोत र साधनका बाबजुद राष्ट्रिय सार्वभौमसत्ता र हितको रक्षा गर्न पूर्वप्रशासक र कुटनीतिज्ञहरूले निर्वाह गरेको भुमिका प्रशंसनीय रहेको बताए ।

मन्त्री खनालले परराष्ट्र नीति आन्तरिक प्राथमिकताको प्रतिविम्व हुनुपर्ने उल्लेख गरे ।

विश्व भू–राजनीतिमा भइरहेको तीव्र परिवर्तन, जलवायु संकट र प्रविधिको विकासले निम्त्याएका चुनौतीहरूलाई सामना गर्न कुटनीतिक चातुर्य र रणनीतिक दूरदर्शिता आवश्यक रहेको उनको भनाइ छ । मन्त्री खनालले नेपालले विश्व परिवेशमा हुने परिवर्तनहरूको केवल प्रतिक्रिया मात्र नजनाई, तिनको पूर्वअनुमान गरी राष्ट्रिय हितमा उपयोग गर्नुपर्नेमा जोड दिए । संस्थागत सुधारको आवश्यकता औँल्याउँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई तथ्याङ्कमा आधारित कार्यप्रणालीमा लैजाने र पूर्ण रूपमा योग्यता प्रणाली लागू गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘हाम्रो रणनीतिक ध्यान अब आर्थिक कुटनीतिमा केन्द्रित हुनुपर्छ । वैदेशिक प्रत्यक्ष लगानी, पर्यटन प्रवद्र्धन, प्रविधि हस्तान्तरण र बजार पहुँचका लागि परम्परागत शैलीलाई त्यागेर सक्रिय अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्ने समय आएको छ । वैदेशिक नियोगहरू अब केवल प्रशासनिक अड्डा मात्र नभई लगानी र प्रविधिका केन्द्र बन्नुपर्छ । नियोगको पदस्थापनलाई केवल अधिकारका रूपमा मात्र नभई कार्यसम्पादनमा आधारित जिम्मेवारीका रूपमा लिइनेछ ।’

मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय सुरक्षा र समृद्धिको पहिलो घेराका रूपमा स्थापित गर्ने संकल्प गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री र झन्झटरहित बनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?