काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना आजदेखि गरिने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा १४ वटा कोठामा मतगणनाको तयारी गरिएको छ ।
निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारसँगको बैठक सकिएपछि मतगणना सुरु गरिनेछ । मतगणना हुने कोठामा सीसीटीभी जडान गर्ने र गणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन गर्ने काम भइरहेको उनले बताए ।
यसअघि शुक्रबार राति मतदान सकिएलगत्तै सभापति पदको मतगणना गरिएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई पराजित गर्दै विजय हासिल गरेका थिए । थापाले झन्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले पराजित उम्मेदवार खड्गीसहित आगामी मतगणनामा पराजित हुने सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
पार्टीमा सबैले जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गर्दै उनले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने बताए । मतगणनाबाट तत्काल जितहार देखिए पनि पार्टीप्रतिको जिम्मेवारी र भूमिकाका हिसाबले सबैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया