नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ : गगन थापा

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले पार्टीको काम गर्ने शैली बदल्ने प्रतिबद्धता जनाएका हुन् ।

थापाले सभापतिको जिम्मेवारीलाई अधिकारका रूपमा नभई जवाफदेहिताका रूपमा लिएको बताए । पार्टीका नेता तथा कार्यकर्ताले परिवर्तनको अपेक्षासहित आफूलाई जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारमा उतार्ने बताए ।

उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने भन्दै काम गर्ने शैली, जिम्मेवारी र जवाफदेहिता बदल्नुपर्नेमा जोड दिए ।

‘महाधिवेशनमा प्रतिस्पर्धा भयो। कोही जित्छौँ, कोही हार्छौँ। यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन । अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ उनले भने ।

सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने पनि थापाले बताए । लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने उल्लेख गर्दै उनले प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने धारणा राखे ।

थापाले अहिले नागरिक र कांग्रेसबीचको विश्वास कमजोर भएको स्वीकार गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए । किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने उनको प्रतिबद्धता थियो ।

कांग्रेसलाई माया गर्ने शुभेच्छुकलाई पुनः पार्टीसँग जोड्नुपर्ने उल्लेख गर्दै उनले बोलेर मात्रै परिवर्तन सम्भव नहुने बताए। त्यसका लागि पार्टीको कार्यशैलीमा सुधार गर्दै कामबाट परिवर्तन देखाउनुपर्ने उनको भनाइ थियो ।

महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए।

उनले कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने पनि स्पष्ट पारे। कानुन सबैका लागि समान हुनुपर्ने भन्दै कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनको भनाइ थियो।

‘कांग्रेस गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन। कसैको पनि भारी कांग्रेसले बोक्दैन,’ उनले भने।

कांग्रेसलाई व्यक्तिगत स्वार्थ र फाइदाभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि थापाले जोड दिए। १५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाटै परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?