काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने भएको छ ।
बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस बैठकले ६४औँ ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो ।
त्रिविका रजिस्ट्रार रविन्द्र शिवाकोटीका अनुसार २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई ६४औँ ग्रेस लिस्टमा समावेश गरिएको छ । ग्रेस लिस्टमा परेका विद्यार्थीमध्ये ८४ दशमलव ९० प्रतिशत साधारण र १५ दशमलव १० प्रतिशत प्राविधिकतर्फका छन् ।
ग्रेस लिस्टअनुसार एमफिलतर्फ २५३, पोस्ट ग्राजुएट डिप्लोमातर्फ १८४ र विद्यावारिधितर्फ १६६ विद्यार्थी रहेका छन् ।
संकाय तथा अध्ययन संस्थानतर्फ व्यवस्थापन संकायका सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी रहेका छन् । त्यस्तै शिक्षाशास्त्र संकायमा १० हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायमा १५ हजार ४४१ र कानुन संकायमा ३ हजार १ विद्यार्थी रहेका छन् ।
यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानमा ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ४६३ र वन विज्ञान अध्ययन संस्थानमा १९२ विद्यार्थी रहेका छन् ।
व्यवस्थापन संकायमा मात्रै स्नातक तहका ३२ हजार १५२, स्नातकोत्तर तहका १० हजार ९०४, एमफिलका ६०, पोस्ट ग्राजुएट डिप्लोमाका १८ र विद्यावारिधिका ८ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका छन् ।
त्यस्तै शिक्षाशास्त्र संकायमा स्नातक तहका १६ हजार ३८९, स्नातकोत्तर तहका ३ हजार ४३, एमफिलका २८, अधिस्नातकका ५२ र विद्यावारिधिका २१ विद्यार्थी रहेका छन् ।
त्रिविले २०८३ पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरेको छ । विद्यार्थीको सहजताका लागि यस वर्षदेखि सातै प्रदेशमा समेत दीक्षान्त समारोह सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको रजिस्ट्रार शिवाकोटीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया