काठमाडौं । नेपालमा बौद्धिक सम्पत्ति संरक्षण र व्यवसायिक विश्वासको वातावरण निर्माणबारे नेपाल–अमेरिका व्यवसायीबीच छलफल भएको छ ।
नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग गत मंगलबार व्यवसायिक छलफल आयोजना गरिएको हो ।
कार्यक्रममा अमेरिकी वाणिज्य संघका सदस्य कम्पनीका ३० भन्दा बढी कानुनी प्रतिनिधि तथा व्यवसायी सहभागी भएका थिए । छलफलमा बौद्धिक सम्पत्ति संरक्षण, ट्रेडमार्क सुरक्षा, नवप्रवर्तन र व्यवसायिक विश्वासलगायत विषयमा छलफल भएको थियो ।
कार्यक्रममा दक्षिण एसियाका लागि अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका बौद्धिक सम्पत्ति प्रतिनिधि शैलेन्द्र भूमरलकर तथा वरिष्ठ वाणिज्य विशेषज्ञ एवं बौद्धिक सम्पत्ति नीति सल्लाहकार शिल्पी झाको सहभागिता थियो ।
उनीहरूले व्यवसायीहरूसँग प्रत्यक्ष छलफल गर्दै बौद्धिक सम्पत्ति संरक्षणका क्रममा देखिएका समस्या र चुनौतीबारे जानकारी लिएका थिए ।
व्यवसायीहरूले ट्रेडमार्कको नक्कल, उपभोक्तामा पर्न सक्ने भ्रम, ब्रान्डको प्रतिष्ठा तथा व्यवसायिक मूल्यको संरक्षण, स्रोत–कोड चोरी र सिर्जनशील उद्योगको संरक्षणका विषय उठाएका थिए । अमूर्त वस्तु तथा सेवामा लाग्ने करबारे पनि छलफल भएको थियो ।
व्यवसायीहरूले बौद्धिक सम्पत्ति संरक्षणका लागि स्पष्ट र पूर्वानुमान गर्न सकिने व्यवस्था, समयमै कारबाही तथा कानूनको एकरूप कार्यान्वयन आवश्यक रहेको बताएका थिए ।
नेपालस्थित अमेरिकी वाणिज्य संघका अध्यक्ष कैलाश विजयानन्दले बौद्धिक सम्पत्ति अब कानुनी वा नियामकीय विषयमा मात्र सीमित नरहेको बताए । उनले नवप्रवर्तन, लगानी र ब्रान्ड निर्माणका लागि व्यवसायीलाई विश्वासिलो वातावरण आवश्यक रहेको बताए ।
अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका प्रतिनिधिहरूले बौद्धिक सम्पत्तिबारे जनचेतना बढाउन कानून कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवालासँग भइरहेको सहकार्यबारे जानकारी गराएका थिए । उनीहरूले बौद्धिक सम्पत्तिसम्बन्धी सहयोग, स्रोतसाधन र अनुदान कार्यक्रमबारे पनि जानकारी दिए ।
नेपालले पेरिस महासन्धि तथा विश्व व्यापार संगठनको व्यापारसम्बन्धी बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सम्झौताअन्तर्गत बौद्धिक सम्पत्ति संरक्षणका लागि विभिन्न प्रतिबद्धता जनाएको छ ।
नेपालस्थित अमेरिकी वाणिज्य संघका कार्यकारी निर्देशक अमिर आर। थापाले बौद्धिक सम्पत्तिबारे जानकारीलाई समाधान र समाधानलाई सहकार्यमा बदल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
उनले अमेरिका–नेपाल व्यवसायिक सम्बन्धअन्तर्गत व्यवसायीलाई नवप्रवर्तन गर्न, लगानी गर्न र व्यवसाय विस्तार गर्न विश्वासिलो वातावरण आवश्यक रहेको बताए ।
संघले प्रभावकारी बौद्धिक सम्पत्ति प्रणालीबाट नेपाली नवप्रवर्तनकर्ता, उद्यमी, सिर्जनशील क्षेत्र र प्रविधि कम्पनीसँगै अन्तर्राष्ट्रिय लगानीकर्ता तथा स्थापित ब्रान्डसमेत लाभान्वित हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया