काठमाडौं । यसपालिको दशैँ तथा चाडपर्वमा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंक धाउनुपर्ने बाध्यता कम हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन् ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले नयाँ नोट वितरणबारे धेरै प्रचार नगरी चाडपर्वका लागि सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।
उनका अनुसार नोट साट्ने काम नियमित प्रक्रियाअन्तर्गत हुने भएकाले यसका लागि छुट्टै सूचना जारी गर्न आवश्यक ठानिएको छैन ।
‘पैसा साट्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,‘उनले भने ।
राष्ट्र बैंकका अनुसार असोज १ गतेदेखि थापाथलीस्थित राष्ट्र बैंक कार्यालय, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकहरूबाट सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि दसैं–तिहारजस्ता चाडपर्वमा ठूलो मात्रामा नयाँ नोट बजारमा पठाउने चलन घटाउँदै आएको छ । नयाँ नोटको सट्टा सुकिला तथा सफा नोट प्रयोग गर्न प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ ।
प्रवक्ता पौडेलका अनुसार भदौ ३१ गतेसम्म बजारमा चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । दसैंका बेला यो रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने राष्ट्र बैंकको अनुमान छ ।
यसअनुसार दसैंका बेला बजारमा थप करिब ६३ अर्ब ५२ करोडदेखि ७९ अर्ब ४० करोड रुपैयाँसम्म मुद्रा चलनचल्तीमा आउन सक्नेछ ।
राष्ट्र बैंकले नयाँ नोटभन्दा सुकिला तथा सफा नोटको प्रयोगलाई प्राथमिकता दिएकाले चाडपर्वका बेला नोट सटही तथा वितरणको व्यवस्था पनि सोहीअनुसार गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया