कुमारी बैंक र महिला उद्यमी महासंघबीच सहकार्य

लोकपथ
7
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल महिला उद्यमी महासंघबीच महिला उद्यमशीलता प्रवर्द्धन तथा वित्तीय पहुँच विस्तारका लागि सहकार्य सम्झौता भएको छ ।

सम्झौतामा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महिला उद्यमीलाई वित्तीय पहुँच, व्यवसाय विस्तार, जलवायुमैत्री लगानी, डिजिटल सेवा तथा बजारका अवसर उपलब्ध गराउन सहकार्य गरिनेछ ।

महिला उद्यमीले भोग्दै आएका वित्तीय समस्या समाधान गर्न नगद प्रवाहका आधारमा कर्जा मूल्यांकन, चल सम्पत्ति धितोमा कर्जा, प्रत्याभूति तथा जोखिम साझेदारीजस्ता वित्तीय विकल्पको सम्भावना खोजिने बैंकले जनाएको छ ।

त्यस्तै, महिला उद्यमीको व्यवसायिक क्षमता विकास, बजारसँगको सम्बन्ध विस्तार र उत्पादन शृङ्खलामा पहुँच बढाउने कामलाई पनि प्राथमिकता दिइनेछ ।

कुमारी बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले महिला उद्यमीलाई वित्तीय स्रोत, बजार र आवश्यक ज्ञानमा पहुँच विस्तार गर्न सहकार्यले सहयोग पुग्ने बताए । महासंघको सञ्जाल र बैंकको दिगो बैंकिङ क्षमतालाई जोडेर महिला नेतृत्वका व्यवसायलाई बलियो बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।

सहकार्यअन्तर्गत व्यवसायको वृद्धि, वित्तीय पहुँच, रोजगारी सिर्जना, व्यवसायको उत्थानशीलता र दिगो अभ्यासको प्रभाव मापन गर्न तथा अनुभव आदानप्रदान गर्न पनि संयन्त्र बनाइनेछ ।

कुमारी बैंकका देशभर २७९ शाखा, २९४ एटीएम, ४१ विस्तारित काउन्टर, ४० शाखारहित बैंकिङ एकाइ र एक हजार २०० भन्दा बढी पीओएस टर्मिनल रहेका छन् ।

बैंकले डिजिटल तथा मोबाइल बैंकिङ सेवामार्फत सहकार्यका कार्यक्रमलाई लक्षित महिला उद्यमीसम्म पुर्‍याउने जनाएको छ ।

बैंक र महासंघले महिला उद्यमीका व्यवसायलाई आर्थिक रूपमा बलियो बनाउने, हरित उद्यम प्रवर्द्धन गर्ने, रोजगारीका अवसर बढाउने तथा जलवायु उत्थानशील अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?