सुनसरीमा २० मेगावाटको सौर्य आयोजना बन्दै, माछापुच्छ्रे बैंकले ८० प्रतिशतसम्म ऋण दिने

लोकपथ
0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ ।

कोशी प्रदेशको सुनसरीमा पशुपति इनर्जी प्रालिले प्रवर्द्धन गर्ने ग्रिडमा जोडिने सौर्य आयोजनामा बैंकले एकल लगानी गर्ने भएको हो । बैंकले आयोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्ने जनाएको छ ।

आयोजनाको निर्माण अवधि करिब डेढ वर्ष रहनेछ। आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

बैंकका अनुसार २० मेगावाट क्षमताको उक्त आयोजनाले नेपालमा सौर्य तथा अन्य नवीकरणीय ऊर्जाको उत्पादन क्षमता विस्तारमा योगदान पुर्‍याउनेछ । विद्युत्को माग बढ्दै गएको अवस्थामा जलविद्युत्सँगै सौर्य ऊर्जाको उत्पादन विस्तारले ऊर्जा स्रोतमा विविधता ल्याउन सहयोग पुग्ने बैंकको भनाइ छ ।

माछापुच्छ्रे बैंकले पछिल्लो समय ऊर्जा पूर्वाधार तथा वातावरणमैत्री परियोजनामा वित्तीय लगानीलाई प्राथमिकता दिँदै आएको जनाएको छ । दिगो विकाससँग सम्बन्धित परियोजनामा वित्तीय पहुँच विस्तार गर्ने क्रममा सुनसरीको सौर्य आयोजनामा लगानी गरिएको बैंकले जनाएको हो ।

सौर्य आयोजना सञ्चालनमा आएपछि विशेषगरी सुख्खायाममा विद्युत् आपूर्तिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैंकले आगामी दिनमा पनि स्वच्छ ऊर्जा उत्पादन विस्तार, ऊर्जा आवश्यकता पूरा गर्न तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने परियोजनालाई प्राथमिकताका आधारमा वित्तीय सहयोग गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?