सिटिजन्स क्यापिटलले १३ प्रतिशत नगद लाभांश बाँड्ने

लोकपथ
21
Shares

काठमाडौं । सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको डिल्लीबजारस्थित कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । कम्पनीको नियमावलीअनुसार सञ्चालकको नियुक्तिसमेत अनुमोदन गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, शेयर रजिस्ट्रार तथा डिम्याट खातालगायतका सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीमा कर्मचारी सञ्चय कोषसहित विभिन्न उद्योगी तथा व्यवसायीको लगानी रहेको छ । कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यकाबाहिरका लगानीकर्तालाई पनि पुँजी बजारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले कम्पनीले सिटिजन्स बैंक इन्टरनेशनलका देशभरका शाखामार्फत विभिन्न सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले देशभरका लगानीकर्तालाई व्यवस्थित लगानी सेवामा पहुँच बढाउँदै दीर्घकालीन र अनुशासित लगानी संस्कार विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?