गोप्य सूचना चुहाउनेलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

लोकपथ
21
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा संस्थालाई चुहाउने पदाधिकारी तथा कर्मचारीमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत रहेर संवेदनशील सूचना बाहिर लैजाने प्रवृत्तिलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताएका हुन् ।

उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभएको उल्लेख गर्दै पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने बताएका छन् ।

गुरुङका अनुसार सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकैलाई पनि उन्मुक्ति नदिने उनको चेतावनी छ। त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा उभ्याउने उनले बताएका छन् ।

सरकारले संवेदनशील सूचना चुहाएको आरोपमा सोमबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?