प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १२ विधेयक पारित

लोकपथ
273
Shares

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन १४५ दिनसम्म सञ्चालन भएको हो ।

यस अवधिमा ६२ दिनमा ६८ वटा बैठक बसेका छन् । संसद सचिवालयका अनुसार अधिवेशनमा कुल २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाही भएको थियो ।

अधिवेशन समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले १२ वटा विधेयक पारित गरेको जानकारी दिए । पारित विधेयकमध्ये आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक महत्वपूर्ण रहेका छन् ।

पारित १२ विधेयकमध्ये ११ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। यस्तै, २० वटा विधेयक विभिन्न संसदीय समितिमा विचाराधीन रहेका छन् भने अन्य केही विधेयक प्रक्रियामा रहेका छन् ।

अधिवेशनका क्रममा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित हुनुका साथै राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरी बजेट कार्यान्वयनको बाटोसमेत खोलिएको थियो । विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पनि संसदमा प्रस्तुत भएका थिए ।
त्यस्तै, प्रश्नोत्तरका क्रममा विभिन्न मन्त्रीहरूले सांसदहरूले उठाएका जनसरोकारका विषयमा जवाफ दिएका थिए ।

यस अधिवेशनमा बाढी–पहिरो प्रभावितको उद्धार तथा राहतको विषयले पनि प्राथमिकता पाएको थियो । भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति प्रतिनिधि सभाले दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको थियो ।

जलवायु परिवर्तनको प्रभाव तथा विपद् व्यवस्थापनका विषयमा अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति गठन गर्नु पनि अधिवेशनको महत्वपूर्ण कामका रूपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?