नेपाल वायुसेवा निगम संकटमा : महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक

लोकपथ
49
Shares

काठमाडौं । उच्च ब्याजदरको ऋणभार, जहाज विस्तारमा ढिलाइ र दक्ष प्राविधिक जनशक्तिको अभावका कारण नेपाल वायुसेवा निगम संकटमा परेको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको आर्थिक तथा व्यावसायिक अवस्था चुनौतीपूर्ण रहेको जानकारी दिए ।

उनका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदर साढे ९ देखि साढे १० प्रतिशतसम्म रहेको छ । पुरानो बक्यौता चुक्ता नगरेसम्म ऋण पुनर्संरचना गर्न ऋणदाता तयार नहुँदा निगममाथि थप आर्थिक भार परेको उनले बताए। कोभिड–१९ को समयमा समेत लागेको ब्याजका कारण करिब ७ अर्ब रुपैयाँ थप भार परेको निगमको भनाइ छ ।

कालाखेतीले नेपालको करिब १२० देखि १३५ अर्ब रुपैयाँको हवाई बजारमा निगमको हिस्सा करिब १५ देखि १६ प्रतिशत मात्रै रहेको बताए । निगमले करिब १८ अर्ब रुपैयाँ बराबरको कारोबार गरिरहेको भए पनि बाँकी ठूलो बजार विदेशी वायुसेवा कम्पनीले लिइरहेका छन् ।

उनले राष्ट्रिय ध्वजावाहकको फ्लीट विस्तार नहुँदा पर्यटन, रोजगारी र विदेशी मुद्रा आर्जनमा समेत असर परेको बताए । निगमको फ्लीट विस्तारका लागि छोटो अवधिमा वेट लिज तथा दीर्घकालीन रूपमा लिज–पर्चेजमध्ये उपयुक्त मोडल अपनाउनुपर्ने उनको भनाइ छ ।

निगममा दक्ष जनशक्तिको अभाव पनि अर्को प्रमुख समस्या रहेको उनले बताए । विदेशी वायुसेवा कम्पनीले तुलनात्मक रूपमा आकर्षक तलब तथा सुविधा दिने भएकाले जनशक्ति टिकाउन कठिन भइरहेको भन्दै हालै पाँच जना वाइडबडी क्याप्टेनले राजीनामा दिएको जानकारी दिए ।

यस्तै, वाइडबडी जहाजमा प्रयोग हुने रोल्स–रोयस इन्जिनको मर्मतमा समेत समस्या देखिएको छ । करिब ६ हजार घण्टा सञ्चालनपछि अनिवार्य ओभरहल गर्नुपर्ने इन्जिनको मर्मतका लागि निकालिएको टेन्डरमा सुरुमा कुनै कम्पनी सहभागी नभएको र पछि आएका कम्पनीले बैंक ग्यारेन्टीसम्बन्धी प्रावधानमा आपत्ति जनाएका थिए ।

निगमले अहिलेको समस्या समाधानका लागि सरकारको सक्रिय हस्तक्षेप, ऋण पुनर्संरचना तथा कर्पोरेट पुनर्संरचनाको आवश्यकता औंल्याएको छ । कालाखेतीले राष्ट्रिय ध्वजावाहकलाई नाफा–घाटाको आधारमा मात्र नभई पर्यटन, रोजगारी, विदेशी मुद्रा आर्जन र समग्र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?