आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदै सरकार

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन् ।

शुक्रबार नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वाग्लेले पुराना ऐन खारेज गर्ने र नयाँ कानुन बनाउने काम अघि बढाइएको बताए ।

उनका अनुसार आफू अर्थमन्त्री बनेपछि १५ वटा पुराना ऐन खारेज गरिएको छ। बजेट सुधार र आर्थिक सुधारलाई सहयोग पुग्ने गरी २७ वटा नयाँ कानुन ल्याउने तयारी भइरहेको उनले बताए ।

वाग्लेले निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको कानुन संशोधनको विषयमा पनि सरकारले काम गरिरहेको जानकारी दिए । उनका अनुसार सरकारले १६६ वटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ, जसमध्ये ५४ वटा कानुन मन्त्रिपरिषद्बाट पारित भइसकेका छन् ।

अर्थमन्त्री वाग्लेले सुशासनको अभ्यास राज्यका सबै अंगमा विस्तार गर्नुपर्ने बताए । केही मन्त्रीको कामबाट मात्र राज्यको समग्र चरित्र परिवर्तन नहुने भन्दै उनले राज्यको मूल संरचना र प्रणालीमा नै सुधार आवश्यक रहेको बताए ।

आर्थिक सुधारका क्रममा विभिन्न चुनौती रहेको उल्लेख गर्दै वाग्लेले नीति र संस्थालाई आफ्नो स्वार्थका लागि प्रयोग गर्दै राज्यको दोहन गर्ने प्रवृत्ति हटाउन समय लागिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?