काठमाडौं । इरानले अमेरिकाले केही सर्त पूरा गरे एक साताभित्र स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरू) खोल्ने प्रस्ताव गरेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार अमेरिकाले सम्झौतामा उल्लेख गरिएका आवश्यक सर्त पूरा गरेपछि होर्मुज जलडमरू खोल्ने प्रक्रिया सुरु हुनेछ । तर, उनले ती सर्तबारे विस्तृत जानकारी भने दिएनन् ।
अराग्चीका अनुसार ती सर्त यसअघि जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्र (एमओयू) मा उल्लेख छन् । अब निर्णय गर्ने जिम्मेवारी अमेरिकाको रहेको उनले बताए ।
इरानले आफ्नो प्रस्ताव कतारमार्फत अमेरिकासमक्ष पठाएको पनि उनले जानकारी दिए ।
यसैबीच, इरानको प्रस्तावबारे अमेरिकी अधिकारीले बीबीसीलाई दुई देशबीच मध्यस्थकर्तामार्फत सकारात्मक संवाद भइरहेको बताएका छन् । उक्त संवादमा आणविक मुद्दासमेत समावेश रहेको उनको भनाइ छ ।
अमेरिका र इरानबीच जुन १८ मा भएको १४ बुँदे एमओयूको उद्देश्य युद्धविराम लागू गर्नु र होर्मुज जलडमरूलाई आंशिक रूपमा खोल्नु थियो ।
समझदारीमा इरानले आणविक हतियार हासिल नगर्ने विषय समावेश थियो । त्यस्तै, अमेरिका, इरान र उनीहरूका सहयोगी पक्षबाट सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने उल्लेख थियो ।
एमओयूमा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने र इरानमाथि लगाइएका प्रतिबन्धमा राहत दिने प्रावधानसमेत राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया