अविरल वर्षा : कुन-कुन जलविद्युत केन्द्रमा क्षति पुग्यो ?

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । केही दिनदेखिको अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ ।

केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत केन्द्रको उत्पादनसमेत प्रभावित भएको छ ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। त्यस्तै, कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ। यसका कारण करिडोर प्रसारण लाइनमा जोडिएका करिब ३५८ मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ ।

बाढीको जोखिमका कारण कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, मोदीलगायतका जलविद्युत् केन्द्रको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ ।

बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी तथा ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ ।

प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ । सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारणरवितरण संरचनामार्फत विद्युत आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ ।

भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण केही क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको उर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ । सडक तथा पहुँचमार्ग खुल्नासाथ थप टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको कार्य तीव्र बनाइने बताइएको छ ।

प्राकृतिक विपद्का कारण प्रभावित विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकताका साथ सबै उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको उर्जामन्त्रीको सचिवालयको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?