रसुवा बाढीपीडितलाई कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा सरसफाइ सामग्री सहयोग

लोकपथ
0
Shares

काठमाडौं । कामना सेवा विकास बैंकका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा बसेका नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन् ।

बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकका तर्फबाट उक्त सामग्री प्रभावित नागरिकलाई हस्तान्तरण गरेकी हुन् ।

बाढीका कारण विस्थापित परिवारको स्वास्थ्य र सरसफाइमा समस्या नहोस् भन्ने उद्देश्यले महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सामग्री संकलन गरी सहयोग गरिएको बैंकले जनाएको छ ।

विपद्को समयमा खाद्यान्न र आवाससँगै व्यक्तिगत सरसफाइका सामग्री पनि आवश्यक पर्ने भएकाले प्रभावित नागरिकको दैनिक जीवन सहज बनाउन सहयोग गरिएको बैंकको भनाइ छ ।

यसअघि पनि बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ र कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

बैंकले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?