एनआईसी एशिया क्यापिटलले ल्यायो ८० करोडको नयाँ म्युचुअल फण्ड

लोकपथ
0
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्ड बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई बिक्रीमा ल्याएको हो ।

क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँका दरले कुल ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्काशन गरिएको छ । यसमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई फण्डको प्रवर्धक एनआईसी एशिया बैंकका लागि छुट्याइएको छ ।

बाँकी ६ करोड ८० लाख इकाई भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । फण्डमा आवेदन दिने अन्तिम मिति असोज १३ गते तोकिएको छ । उक्त अवधिमा आवश्यक आवेदन नपरेमा निष्काशन अवधि असोज २१ गतेसम्म थप गर्न सकिनेछ ।

फण्डको कम्तीमा ५० प्रतिशत अर्थात् ४ करोड इकाई बिक्री भएमा बाँडफाँट प्रक्रिया अघि बढाइनेछ । तोकिएको न्यूनतम इकाई बिक्री नभएमा फण्ड निष्काशन रद्द गरिनेछ । त्यस अवस्थामा आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया १५ दिनभित्र सुरु गरिने क्यापिटलले जनाएको छ ।

यो फण्डको अवधि १० वर्ष रहेको छ । इकाई खरिद गर्न इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो शेयर’ वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईसी एशिया क्यापिटलले नै लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?