भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डले भन्यो : ‘पदयात्रा र आरोहणमा उच्च सतर्कता अपनाउनुहोस्’

लोकपथ
21
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बोर्डले विशेषगरी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे पर्यटकीय गतिविधि स्थगित गर्न समेत आग्रह गरेको हो।

नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकाले विभिन्न क्षेत्रमा भ्रमण, पदयात्रा तथा हिमाल आरोहणका कार्यक्रम भइरहेको भन्दै जोखिमयुक्त मौसममा विशेष सावधानी अपनाउन आग्रह गरे ।

‘अहिले विभिन्न क्षेत्रमा हिमाल आरोहण, पदयात्रा, मेला तथा महोत्सवहरू भइरहेका छन्,’ उनले भने, ‘भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै यस्ता कार्यक्रम गर्दा उच्च सतर्कता र आवश्यक सावधानी अपनाउन हामी विशेष अपिल गर्दछौँ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ७ गते बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ । असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा समेत भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

खराब मौसमका कारण बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिमसमेत रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचनाहरू निरन्तर पछ्याउन आग्रह गरेको छ ।

प्रवक्ता शर्माले मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि पर्यटन बोर्ड र मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा सामाजिक सञ्जाल नियमित हेर्न अनुरोध गरे ।

उनले जोखिमयुक्त मौसममा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।

पर्यटन बोर्डले अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित पर्यटन व्यवसायीसँग समन्वय गरेर यात्राको तालिका तय गर्न पदयात्री तथा पर्वतारोहीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?