बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा थप राहत तथा सञ्चार सुविधा

लोकपथ
49
Shares

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई नेपाल टेलिकमले विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने भएको छ ।

रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित नागरिकलाई लक्षित गरी निःशुल्क सञ्चार सेवा उपलब्ध गराउन लागिएको हो। पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक आसपासका प्रभावित नागरिकले समेत यो सुविधा पाउनेछन् ।

बाढीका कारण क्षति भएका र पुनः प्रयोग गर्न नमिल्ने एनटी फाइबर केबल तथा राउटर निःशुल्क उपलब्ध गराई जडान गरिनेछ। एनटी फाइबर प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि सकिएमा थप तीन महिनासम्म निःशुल्क सेवा दिइनेछ ।

बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा दर्ता भएको सिमकार्ड पुनः वितरण गर्ने व्यवस्था पनि गरिएको छ । यसका लागि पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ। ती नम्बरको अन्तिम लोकेशन बाढी प्रभावित क्षेत्रमा रहेको हुनुपर्नेछ भने सम्बन्धित नम्बरको केवाईसी विवरणसमेत अद्यावधिक गर्नुपर्नेछ ।

बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० वटा सिमकार्डसमेत उपलब्ध गराइएको छ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मुख्य तथा ब्याकअप सर्भरबीच निःशुल्क कनेक्सनका लागि डार्क फाइबर तथा भौतिक कनेक्टिभिटी उपलब्ध गराइएको छ ।

बाढी प्रभावित नागरिकलाई मनोवैज्ञानिक सहयोग तथा परामर्श दिँदै आएको सीएमसी–नेपालको टोल फ्री नम्बर १८१०५०००४०२ को तीन महिनासम्मको मासिक बिलसमेत निःशुल्क गरिनेछ ।

कम्पनीले काठमाडौंमा राहत संकलन तथा व्यवस्थापनका लागि एक महिनासम्म १०० एमबिपिएस इन्टरनेट र भरतपुरको विपद् व्यवस्थापन युनिटका लागि एक वर्षसम्म १०० एमबिपिएस इन्टरनेट निःशुल्क उपलब्ध गराएको छ ।

रसुवाको बाढी प्रभावित क्षेत्रबाट सूचना, क्षतिको विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी, फिल्ड रिपोर्ट, फोटो तथा भिडियो संकलन र प्रवाह गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्षसम्म उच्च गतिको निःशुल्क इन्टरनेट र प्राविधिक सहयोग पनि उपलब्ध गराइएको छ ।

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि नै झन्डै २० करोड रुपैयाँ सहयोग गरिसकेको जनाएको छ । बाढीबाट क्षति भएका दूरसञ्चार पूर्वाधारको पुनर्निर्माणसमेत जारी रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?