पुनर्निर्माणमा मोडेल परिवर्तन : ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने

लोकपथ
21
Shares

काठमाडौं । सरकारले रसुवा बाढीबाट प्रभावित बस्तीहरूको पुनर्निर्माण पुरानै स्थानमा गर्नेभन्दा सुरक्षित स्थानमा व्यवस्थित ‘टाउनसिप’ विकास गर्ने योजना अघि सारेको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा विपद्पछिको पुनर्निर्माणलाई व्यवस्थित बनाउन नयाँ अवधारणासहित काम अघि बढाइने जानकारी दिए ।

उनका अनुसार जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई सोही ठाउँमा पुनःस्थापना गर्नुको सट्टा नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गरिनेछ । त्यस्ता बस्तीमा अस्पताल, विद्यालय, उद्योग, खानेपानी, सडक तथा अन्य आवश्यक पूर्वाधार एकीकृत रूपमा निर्माण गर्ने सरकारको योजना छ ।

मन्त्री लम्सालले पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण गठन नगरी विद्यमान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई नै थप अधिकारसम्पन्न बनाउने तयारी भइरहेको बताए । विपद्का कारण स्थानीय तहको स्रोतसाधन र क्षमता सीमित रहेको देखिएकाले त्यसअनुसार कानुनी व्यवस्था सुधार गर्न लागिएको उनको भनाइ छ ।

सडक, कनेक्टिभिटी र खानेपानीजस्ता पूर्वाधारको पुनर्निर्माण भने सम्बन्धित क्षेत्रगत निकायमार्फत अघि बढाइने उनले बताए । सम्भव भएसम्म केही पुनर्निर्माण आयोजनाहरू टेन्डर प्रक्रियामा गइसकेको जानकारी पनि उनले दिए ।

सरकारले पुनर्निर्माणका लागि आवश्यक कानुनी संशोधनसहितको विधेयक छिट्टै संसदमा पेस गर्ने तयारी गरेको छ । साथै, स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि आवश्यक स्रोतसाधन र कानुनी आधार उपलब्ध गराउने सरकारको योजना छ ।

सडक विभाग, खानेपानीलगायत क्षेत्रगत निकायसँग समन्वय गरी पुनर्निर्माणको कामलाई तीव्रता दिने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?