काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताइन् ।
नेपालको व्यापार घाटा ठूलो रहेको उल्लेख गर्दै भण्डारीले अन्तरनिर्भर अर्थतन्त्रको कुरा गर्नुअघि देशभित्रै उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । ठूलो व्यापार कारोबार भए पनि त्यसबाट नेपालको उत्पादन र अर्थतन्त्रले पर्याप्त लाभ लिन नसकेको उनको भनाइ थियो ।
उनले नेपालमा उत्पादन भएका वस्तुको हिस्सा कति छ भन्ने विषयमा पनि गम्भीर समीक्षा गर्नुपर्ने बताइन् । विगतमा आफूले नेपालको अर्थतन्त्र ‘खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकेको’ टिप्पणी गरेको स्मरण गर्दै उनले अर्थतन्त्रको अवस्थाबारे दीर्घकालीन दृष्टिले मूल्याङ्कन गर्नुपर्ने बताइन् ।
भण्डारीले नेपालको आर्थिक तथा राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दा कुनै निश्चित शासन व्यवस्थालाई मात्र दोष दिन नहुने बताइन् । राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक तथा सामाजिक अवस्थाबारे बहस गर्नुपर्ने उनको भनाइ थियो ।
ठूला विपद् तथा संकटको सामना गर्न राष्ट्रिय भावना र राष्ट्रिय एकता आवश्यक रहेको पनि उनले बताइन् । राष्ट्रिय समस्या समाधानका लागि साझा एजेण्डा तय गरी सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया