सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलन गर्छौँ : प्रचण्ड

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं–तिहारपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारप्रति जनआक्रोश बढ्दै गएको दाबी गरे ।

उनले सदनभित्र सबै प्रतिपक्षी दललाई एक ठाउँमा ल्याएर संयुक्त रूपमा आवाज उठाउने काम भइरहेको बताए । उनका अनुसार सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी र ट्रेड युनियनसँग आबद्ध आन्दोलनका सहयात्रीमाथि दमन र ज्यादती गरेको छ ।

त्यसको विरोधमा बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। त्यहाँ संयुक्त रूपले आवाज उठाउँछौँ । सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ,’ प्रचण्डले भने, ‘त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौँ ।’

प्रचण्डले विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग लगातार छलफल भइरहेको पनि बताए ।

दशैं–तिहारजस्ता ठूला चाडपर्वको समयलाई आन्दोलनको तयारीका लागि उपयोग गर्ने उनले बताए । चाडपर्वपछि देशको परिस्थिति हेरेर ‘प्रतिक्रान्तिकारी षड्यन्त्र’विरुद्ध प्रतिवाद गर्दै नयाँ आन्दोलन सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

उनले आन्दोलनका क्रममा जिम्मेवारीपूर्वक अघि बढ्दै सबैलाई समेट्नुपर्नेमा जोड दिए। ‘ठूलो छाती बनाएर’ सबैलाई समेटेर अघि बढ्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?