कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीदेखि सदस्यसम्म सबै केन्द्रीय सदस्यको हैसियतमा

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यदेखि पदाधिकारीहरुलाई समेत समेटेर लैजाने निर्णय गरेको हो ।

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६–१९ गतेसम्म हुँदैछ । तर त्यसअघि असोज ३ गतेबाट वडा अधिवेशन सुरु हुँदैछ ।

त्यसो त कांग्रेसको संस्थापन इतर समूहले समेत मंसिरको २१ गतेबाट महाधिवेशनको मिति तोकेको छ । तर पूर्वसभापति शेरबहादुर देउवा समूहका धेरै नेताहरु समेत बिहीबार पार्टी कार्यालय सानेपा पुगेर असोज दोस्रो साताबाट हुने महाधिवेशनमा सहभागि हुने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

निर्वाचन आयोगदेखि अदालतसम्मले विशेष महाधिवेशनलाई वैधता दिएको भन्दै देउवा समूहका अधिकांश नेताहरु समेत असोज १६ को महाधिवेशनलाई सफल बनाउन आज सानेपा पुगे । देउवा समूहबाट संस्थापनतर्फ पुगेका नेताहरुलाई केन्द्रीय सदस्यको हैसियतमा फर्काउने निर्णयका लागि आजको बैठक बोलाइएको थियो ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुलाई केन्द्रीय सदस्यको हैसियतमा पार्टीमा समायोजन गरेको बताए ।

‘पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु पूर्ववत् पद अनुसारकै केन्द्रीय सदस्यमा रहनुभएको छ । आजको बैठकले त्यसलाई अनुमोदन समेत गरिसकेको छ,’ उनले भने, ‘पदाधिकारीहरु पनि केन्द्रीय सदस्यको हैसियतमा हुनुहुन्छ । यदी पदाधिकारीहरुलाई पदाधिकारीकै हैसियतमा राखिने हो भने फेरि पहिलेकै अवस्थामा फर्किनुपर्ने हुन्छ, त्यसकारण सबै जना केन्द्रीय सदस्यको भूमिकामा १५औँ महाधिवेशन सम्पन्न गर्न लाग्नुहुनेछ भन्ने विश्वास छ ।’

आज बसेको बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले १५औँ महाधिवेशनको उद्घाटनमा आउनका लागि पूर्वसभापति देउवालाई आह्वान समेत गरेका छन् । विशेष महाधिवेशनपछि पार्टीमा देखिएको तिक्तता र पुनः संस्थापनमा फर्किएका नेताहरुप्रति छुद्र टिप्पणी नगर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?