कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने

लोकपथ
35
Shares

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि सडक विभागले सडकलाई दीर्घकालीन रूपमा सुरक्षित र सञ्चालनयोग्य बनाउने काम अघि बढाउने भएको छ ।

सडक विभागका सिडिइ सुरेश पौडेलका अनुसार अहिले सडक सञ्चालनमा ल्याउनु तत्कालीन समाधान मात्रै हो । कृष्णभीरको जोखिम स्थायी रूपमा कम गर्न सडकको माथिल्लो भागमा पानी व्यवस्थापन, पहिरो नियन्त्रण तथा तल्लो भागमा त्रिशूली नदीको कटान रोक्ने संरचना आवश्यक रहेको उनले बताए ।

पौडेलका अनुसार कृष्णभीरको दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो स्लोपबाट पानीको निकास व्यवस्थापन गर्ने, सम्भावित पहिरो नियन्त्रणका संरचना निर्माण गर्ने र नदी कटानबाट सडक जोगाउने उपायबारे अध्ययन सुरु भइसकेको छ । आवश्यक परीक्षण, डिजाइन र अन्तिम योजना तयार गर्न भने केही समय लाग्नेछ ।

कृष्णभीरको दीर्घकालीन विकल्पका रूपमा सुरुङ निर्माण गर्ने वा त्रिशूली नदीपारि वैकल्पिक सडक बनाउने विषयमा समेत छलफल भइरहेको विभागले जनाएको छ । तर वैकल्पिक संरचना निर्माण हुन समय लाग्ने भएकाले हाल सञ्चालनमा ल्याइएको सडकलाई कम्तीमा तीन वर्ष सुरक्षित रूपमा सञ्चालनयोग्य बनाउने गरी काम गर्नुपर्ने पौडेलले बताए ।

उनले माथिल्लो भागबाट पानी व्यवस्थापन गर्नु मुख्य चुनौती रहेको बताए । माथिल्लो स्लोप फेल भएर पहिरो जाने तथा साना–साना पहिरोका कारण एक–दुई घण्टा सडक अवरुद्ध हुने जोखिमसमेत रहेकाले त्यसलाई न्यूनीकरण गर्ने विषयमा छलफल सुरु भइसकेको उनको भनाइ छ ।

त्यसका लागि अहिले ग्राभेल गरिएको सडकलाई वर्षा सकिएलगत्तै कालोपत्रे गर्ने तयारी विभागले गरेको छ । कालोपत्रेका लागि अस्फाल्ट वा अन्य उपयुक्त प्रविधि प्रयोग गर्ने विषयमा छलफल भइरहेको पौडेलले जानकारी दिए ।

सडक सञ्चालनसँगै ट्राफिक सुरक्षाका थप मापदण्डसमेत लागू गरिने उनले बताए । माथिल्लो भिर र तल्लो नदी कटानको जोखिम कायमै रहेकाले सडक सञ्चालनमा आएपछि काम रोक्ने अवस्था नरहेको विभागको भनाइ छ ।

यता, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि माथिबाट पहिरो वा माटोका अवशेष खस्ने जोखिम भने कायमै रहेको बताए ।

वर्षा हुँदा माथिल्लो भागबाट डेब्रिज खस्ने सम्भावना रहे पनि त्यसले यसअघिजस्तो लामो समयसम्म सडक अवरुद्ध हुने अवस्था नआउने गरी व्यवस्थापन गर्न सकिने उनले बताए ।

खड्काका अनुसार करिब ११ दिनको प्रयासपछि कृष्णभीरमा तत्कालका लागि सडक सञ्चालन गर्न आवश्यक काम सम्पन्न भएको हो । सडक निर्माणका क्रममा सोल ड्रेन, ग्रेड कटिङ, सबग्रेड तथा सडक सुरक्षाका मापदण्ड अपनाउनुपर्ने भएकाले काम सम्पन्न गर्न केही समय लागेको उनले बताए ।

अहिले मालवाहक, सार्वजनिक तथा निजी सवारीसाधनसँगै ग्यास बुलेटसमेत सहज रूपमा आवतजावत गरिरहेको उनले जानकारी दिए ।

यसैबीच, बाढीबाट पृथ्वीराजमार्गका विभिन्न खण्डमा भएको क्षतिको मूल्यांकन गर्न विश्व बैंकको प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्ने भएको छ ।

खड्काका अनुसार कृष्णभीरसहित शीतलबजार, पोखरेभीर, पाङ्ग्रे, गलौँदीलगायत क्षेत्रमा बाढीले सडकमा क्षति पुर्‍याएको छ । विश्व बैंकको टोलीले ती क्षेत्रको क्षतिको अवस्था अध्ययन गरी सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउने उपायबारे मूल्यांकन गर्नेछ ।

निरीक्षणमा सडक विभाग, परामर्शदाता तथा निर्माण व्यवसायीको टोलीसमेत सहभागी हुने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?