रास्वपालाई गगनले भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संसदीय समितिलाई महत्व नदिएको आरोप लगाएका छन् ।

सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दे उनले प्रधानमन्त्री साहले संसदलाई बेस्वास्ता गर्दै आएको बताएका हुन् ।

प्रधानमन्त्रीले संसदको संस्थागत भूमिका र संसदीय समितिको मर्यादालाई पर्याप्त महत्व दिनुपर्ने उनले बताए । प्रमुख प्रतिपक्षी दलका नेता संसदमा बोल्दा समेत प्रधानमन्त्रीको उपस्थित नरहने गरेको उल्लेख गर्दै उनले सरकारको नेतृत्वबाट संसदलाई बेवास्ता गर्ने अवस्था बन्न नहुनेमा जोड दिए ।

रसुवा बाढीपछिको विपद् व्यवस्थापनमा उच्चस्तरीय संसदीय समिति बनाउने सर्वदलिय निर्णयलाई प्रधानमन्त्रीले स्वीकार नगरेमा समस्या हुने उनको भनाइ छ ।

यस विषयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई ध्यानाकर्षण गराएको उनको भनाई छ । संसदीय समितिलाई महत्वपूर्ण जिम्मेवारी दिइएपनि प्रधानमन्त्री स्वयंले समितिको काम र मर्यादालाई सम्मान नगर्ने अवस्था आएमा त्यसले समस्या निम्त्याउने उनले बताएका छन् । उनले कांग्रेसले सरकारलाई सहयोग गरिरहेको उल्लेख गर्दै संसदीय समितिमा बसेर काम गर्ने बताएका हुन् । समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले ग्रहण गर्नुपर्ने उनको भनाई छ ।

उनले भने ,‘संसदप्रतिको प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ । सकेसम्म संसदलाई पूर्ण रूपमा व्यवस्था गर्ने, संसदभित्र आजसम्म प्रमुख प्रतिपक्षी दलको नेताले बोलेको बेलामा उहाँको उपस्थित छ भन्ने लाग्दैन । संसदलाई नै भाउ नदिने खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई, यसको मान राख्नुभएन, त्यसको मर्यादा राख्नुभएन । अब यसरी नै हेपिराख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने त्यो बेलामा चाहिँ के गर्ने हो त ? त्यसैले रास्वपा सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, तर सँगसँगै तपाईंकै दलको सरकार भएको, तपाईंकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको नि हेक्का राख्नुहोला । भोलि यत्रो संसदीय समिति बनाइयो, काम पनि गरियो । हामी त अनकन्डिसनल सरकारलाई सपोर्ट गरिरहेका छौँ, संसदीय समितिमा बसेर काम पनि गर्छौँ । अनि त्यो संसदीय समितिले रिपोर्ट पनि तयार गर्ला, अनि त्यो रिपोर्ट बुझ्ने वा त्यो रिपोर्टलाई ग्रहण गर्ने वा त्यो रिपोर्टको आधारमा काम गर्ने कुराको सन्दर्भमा चाहिँ सामान्य छलफलमा पनि प्रधानमन्त्रीको रुचि नराख्नुहोला । यो सन्दर्भमा अहिलेदेखि हेक्का ख्याल पुगोस् ।’

उनले संसदीय समिति गठन गर्दा त्यसको कार्यक्षेत्र, जिम्मेवारी र आगामी कामबारे प्रधानमन्त्रीसँग सुरुदेखि नै संवाद गर्न रास्वपा सभापतिलाई सुझाव दिएको बताएका छन् ।

यसो गर्दा समितिले तयार गर्ने प्रतिवेदन कार्यान्वयनका क्रममा सरकार र संसदबीच असमझदारी नहुने उनको भनाइ छ । संसदीय समिति गठनको विषयमा दलहरूबीच सहकार्य जारी रहने उनले बताए । एक साताभित्र संसदीय समिति गठनका लागि सभामुखलाई औपचारिक रूपमा आग्रह गर्ने विषयमा बैठकमा समझदारी भएको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?