मस्र्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लोकपथ
28
Shares
फाइल तस्बिर

लमजुङ । लगातार वर्षा भइरहेका कारण मस्र्याङ्दी नदीमा पानीको सतह बढेको छ । भकुण्डेबेँसीस्थित मस्र्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८ दशमलव २४ मिटर आसपास पुगेको छ ।

उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ । पछिल्ला दिनमा पानीको बहाव बढ्दा मस्र्याङ्दी नदीले पटकपटक चेतावनी तह पार गरेको केन्द्रले जनाएको छ । नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मस्र्याङ्दी नदीमा पानीको सतह पटकपटक बढ्ने गरेको भन्दै नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढेको बताएका छन् ।

नदी आसपासका विभिन्न स्थानमा जलविद्युत् आयोजनाले जडान गरेका साइरनमार्फत पानीको सतह बढेको जानकारी पाउने गरिएको उनले बताए । पछिल्लो समय लगातार वर्षा भइरहेकाले कति बेला के हुन्छ भन्ने यकिन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसअघि २०७८ सालमा आएको बाढीले मस्र्याङ्दी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । बाढीका कारण लमजुङ–मनाङ सडकखण्डलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको थियो ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ स्थित खरखरे भिरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार सडकको माथिल्लो भागबाट पहिरोसहित ढुङ्गा–माटो खसेर सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खुदीबाट प्रहरी सहायक हवल्दार रामकुमार श्रेष्ठको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको उनले बताए ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए । खरखरे भिर प्रहरी चौकी खुदीबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ ।

खरखरे भिरमा वर्षायाममा पटकपटक पहिरो खस्ने गरेको छ । यसअघि पनि पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको थियो । वर्षा जारी रहेकाले पहिरोको जोखिम कायमै रहेको र सडक खुलाउने क्रममा समेत सावधानी अपनाउनुपर्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?