काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकले समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको प्रस्तावमा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा प्रतिवेदनमाथि छलफल गर्दै सभापति बुढाथोकीले समितिका सदस्यहरूबाट प्राप्त सुझाव र सल्लाहका आधारमा विधेयकमाथि दफावार छलफल गरी सर्वसम्मत निर्णय गरिएको बताए ।
उनले विधेयकलाई सर्वसम्मत ढंगले अघि बढाउनुपर्ने विषयमा सबै सदस्यको सकारात्मक भावना रहेको उल्लेख गरे ।
समितिका निर्णयकै आधारमा प्रतिवेदन तयार गरिएको भन्दै बुढाथोकीले बैठकबाट भएका निर्णयबाहेक अन्य विषयवस्तु प्रतिवेदनमा समावेश भए–नभएको जाँच गर्न समितिको ध्यान केन्द्रित भएको बताए ।
उनले समितिका सदस्यहरूले आवश्यक ठानेमा थप सुझाव तथा धारणा अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सक्ने व्यवस्था रहेको जानकारी दिए ।
‘नेपाल राष्ट्र बैंक ऐन संशोधन हुँदै गर्दा देशले आर्थिक रूपमा फड्को मार्नुपर्छ भन्ने हो । त्यसमा संरचनागत रूपमा नेतृत्व कसरी चयन गर्ने र नेतृत्वले कसरी कार्य गर्ने भन्ने विषय बढी आएको छ,’ उनले भने, ‘अब समितिमा अभिलेखको रूपमा यहाँहरूले पनि दर्ता गरौँ र यो प्रतिवेदनलाई यहाँहरूले सर्वसम्मत ढंगले पास गरिदिन म अनुरोध गर्दछु ।’
सभापति बुढाथोकीले राष्ट्र बैंक ऐन संशोधनको प्रक्रियाले मुलुकको आर्थिक विकासमा संरचनागत परिवर्तन ल्याउन सक्ने बताए ।
विशेषगरी राष्ट्र बैंकको नेतृत्व चयन र नेतृत्वले गर्ने कार्यसम्पादनसँग सम्बन्धित विषयमा समितिमा महत्वपूर्ण छलफल भएको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया