काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम, क्षति र विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने बताएका छन् ।
मुस्ताङको जोमसोममा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर कम गर्न र विपद् व्यवस्थापन गर्न विश्वव्यापी सहयोग आवश्यक रहेको बताएका हुन् ।
उनले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने बताए । हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे पनि जानकारी गराउने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहका अनुसार तापक्रम बढ्दा नेपालका हिमाल पग्लिने, हिमताल र हिमनदीमा जोखिम बढ्ने, नदीको बहाव परिवर्तन हुने तथा पानीका मुहान सुक्ने समस्या बढिरहेका छन् । मौसममा अप्रत्याशित परिवर्तन आउँदा कृषि, जनजीवन र जैविक विविधतामा समेत असर परेको उनले बताए ।
जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्दै गएकाले त्यसको न्यूनीकरण र व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गरेकी छन् । सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ ।
हिमपहिरोपछि भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको पृष्ठभूमिमा सम्मेलन आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया