यूएईलाई हराउँदै नेपाल दोस्रोपटक एसिया कपमा

लोकपथ
189
Shares

काठमाडौं । नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । शनिबार मलेसियाको बायोमास ओभलमा भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

यो जितसँगै नेपाल आगामी वर्ष बंगलादेशमा हुने एसिया कपका लागि छनोट भएको छ । नेपाल दोस्रोपटक एसिया कपमा पुगेको हो । यसअघि सन् २०२३ मा पनि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो ।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९।१ ओभरमा २६९ रनमा अलआउट भयो । यूएईका राहुल चोपडाले अविजित १०० रन बनाए । उनले १०५ बलमा चार छक्का र तीन चौका प्रहार गरे ।

यस्तै सोहेब खानले ५२, तनिश सुरीले ४२, कप्तान हरप्रीतसिंह भाटियाले ३३ र खुजैमा तानवीरले १५ रन बनाए । छैटौँ विकेटका लागि राहुल र सोहेबले ८७ रनको साझेदारी गरेका थिए ।

नेपालका करण केसीले तीन विकेट लिए । ललितनारायण राजवंशीले दुई तथा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, गुल्सनकुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका आसिफ शेखले शतक प्रहार गर्दै १०२ रन बनाए । उनले १०६ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।

गुल्सनकुमार झाले ३८ बलमा चार छक्का र तीन चौकासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र इशान पाण्डेले १३ रनको योगदान दिए ।

पहिलो विकेटका लागि आसिफ र अर्जुनले ९७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए ।

यूएईका इब्रार अहमदले चार विकेट लिए भने खुजैमा तानवीरले दुई तथा हैदर अली र आदिब उस्मानीले एक–एक विकेट लिए ।

अब नेपालले आगामी वर्ष बंगलादेशमा हुने एसिया कपमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?