काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले समयमै स्वदेशी तथा विदेशी विज्ञ र प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन् ।
शुक्रबार धनुषाको जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रसुवा, भोटेकोसी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताए ।
उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको गम्भीर असरको यो एउटा उदाहरण भएको उल्लेख गरे । विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै उनले यसले नेपालसँगै विश्व समुदायलाई समेत स्तब्ध बनाएको बताए ।
प्रचण्डले विपद्को सुरुवाती चार–पाँच दिनमै विज्ञ परिचालन गरेर उद्धार कार्यलाई गम्भीरतापूर्वक अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाबी गरे ।
सरकारको उद्धार कार्य प्रभावकारी हुन नसकेको आरोप लगाउँदै उनले विदेशी विज्ञहरूले सहयोग गर्ने इच्छा देखाउँदा पनि सरकारले समयमै पहल नगरेको बताए । ‘हामी आफैँ गर्छौं’ भन्ने अहंकारका कारण विशेषज्ञको सहयोग लिन ढिलाइ भएको उनको आरोप छ ।
११ दिनपछि पनि मानिसहरू जीवितै उद्धार भएको घटनाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरैको ज्यान बचाउन सकिने अवस्था रहेको पुष्टि हुने प्रचण्डले बताए ।
उनले विपद्का बेला सरकारले नागरिकसँग गरिरहेको व्यवहारसमेत अहंकारपूर्ण र मनोगत देखिएको टिप्पणी गरे । यस्तो कार्यशैलीले गम्भीर विषयलाई प्रभावकारी रूपमा सम्हाल्न सरकार असफल भएको देखिएको उनको भनाइ छ ।
अझै पनि बेपत्ताको खोजी, पीडितलाई राहत तथा पुनर्स्थापनालाई उच्च प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । विपद्का कारण हजारौँ मानिस बेपत्ता भएको र ठूलो जनधनको क्षति भएको भन्दै उनले राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्न मधेस प्रदेशका जनतालाई अपिल गरे ।
विपद्लाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय समुदायबाट न्याय र सहयोग प्राप्त गर्नुपर्ने विषयमा समेत प्रचण्डले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया