भोटेकोशी बाढीपीडितका लागि दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ ।

प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकम सहयोग गरेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले १५ करोड रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

भोटेकोशी बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न निकाय तथा संघसंस्थासँग सहयोग जुटाइरहेको छ ।

प्राधिकरणले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।

यसैगरी, प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई पनि बाढी प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ । विपद्का समयमा सञ्चार सेवा निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा तथा पूर्वाधार पुनःस्थापनालाई प्राथमिकता दिन सेवा प्रदायकलाई आग्रह गरिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगसँगै कर्मचारी तथा पदाधिकारीले पनि आफ्नो तलब तथा भत्ताबाट विपद् प्रभावितका लागि आर्थिक योगदान गर्ने निर्णय गरेका छन् ।

निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले सुरु तलब स्केलको आठ दिन बराबर, अधिकृत द्वितीय श्रेणीका कर्मचारीले छ दिन र अधिकृत तृतीय श्रेणीका कर्मचारीले चार दिन बराबरको तलब योगदान गर्नेछन् । सहायकस्तरका कर्मचारीले दुई दिन र श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब योगदान गर्नेछन् ।

त्यस्तै, प्राधिकरणका अध्यक्षले १० दिन बराबरको तलब र दुई बोर्ड बैठक भत्ता तथा बोर्ड सदस्यहरूले दुई दिनको बोर्ड बैठक भत्ताबराबरको रकम विपद् प्रभावितका लागि योगदान गर्ने निर्णय गरिएको छ ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुन नदिन तथा क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको पुनःस्थापना र सेवा सञ्चालनलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?