लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा आज आठ घण्टा सडक पूर्ण रूपमा बन्द हुने भएको छ ।
धारापानी क्षेत्रमा १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएकाले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न सकिने अवस्था छैन ।
उनका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन । त्यसपछि साँझ ५ बजेदेखि भोलि बिहान १० बजेसम्म भने भारी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।
सडक ढलानका क्रममा यात्रु तथा सवारीसाधनलाई आवश्यकताअनुसार वैकल्पिक मार्गको व्यवस्था गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया