याङ्गो राइडको ‘विश्वव्यापी सुरक्षा रिपोर्ट २०२४–२०२५’ सार्वजनिक

लोकपथ
28
Shares

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले ‘विश्वव्यापी सुरक्षा रिपोर्ट २०२४–२०२५’ सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार नयाँ प्रविधि र सुरक्षा प्रणालीको प्रयोगपछि याङ्गो राइड सञ्चालन भएका देशमा गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेका छन् ।

याङ्गो राइड मध्यपूर्व, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाका २५ भन्दा बढी देशमा सञ्चालनमा छ । प्रति १० लाख राइडमा हुने गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ९.८३ बाट घटेर ६.७६ मा झरेको कम्पनीले जनाएको छ ।

लापरवाहीपूर्वक सवारी चलाउने घटनामा मध्यपूर्व र दक्षिण एसियामा ४७ प्रतिशत, अफ्रिकामा ३८ प्रतिशत र ल्याटिन अमेरिकामा २४ प्रतिशतले कमी आएको छ । कम्पनीका अनुसार औसत ६४ हजार किलोमिटर यात्रामा एकपटक दुर्घटना वा दुर्घटनाको सम्भावित घटना दर्ता हुने गरेको छ ।

यस्तै, यात्रुको फोन नम्बर गोप्य राख्ने इन–एप कलिङ सुविधाका कारण राइडपछि हुने अनावश्यक सम्पर्कमा पनि कमी आएको छ । पेरुमा यस्तो सम्पर्क ८१ प्रतिशत, कोलम्बियामा ७८ प्रतिशत र पाकिस्तानमा ३१ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२४–२०२५ मा याङ्गोको एन्टी–फ्रड प्रणालीले सम्भावित ठगी पहिचान गरी विश्वभर १७ हजार २७५ शङ्कास्पद यात्रु अकाउन्ट बन्द गरेको छ ।

कम्पनीले राइड सुरु हुनुअघि, राइडको समयमा र राइड सकिएपछि गरी तीन चरणमा सुरक्षा व्यवस्था लागू गरेको जनाएको छ । राइडअघि चालकको लाइसेन्स तथा कागजात जाँच गर्ने, सेल्फीमार्फत चालकको पहिचान पुष्टि गर्ने र ठगी नियन्त्रण प्रणाली प्रयोग गर्ने गरिएको छ ।

राइडका क्रममा यात्रु र चालकले सेफ्टी सेन्टर, रुट सेयरिङ र आपत्कालीन एसओएस बटन प्रयोग गर्न सक्छन् । जीपीएस र चालकको ड्राइभिङ व्यवहारको समेत निगरानी गरिने कम्पनीले जनाएको छ ।

राइड सकिएपछि यात्रु र चालकले एकअर्कालाई रेटिङ तथा प्रतिक्रिया दिन सक्छन् । इन–एप कलिङ सुविधाले व्यक्तिगत फोन नम्बर सार्वजनिक नगरी सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।

याङ्गो राइडले २४ घण्टा र सातै दिन तत्काल सहायता सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीका अनुसार ९० प्रतिशत आपत्कालीन घटनामा पाँच मिनेटभित्र पहिलो सम्पर्क गर्ने लक्ष्य राखिएको छ ।

कम्पनीले पाकिस्तान, अङ्गोला र जाम्बियालगायतका देशमा सरकारी निकाय तथा समुदायसँग सहकार्य गरी सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

याङ्गो राइडका प्रमुख कार्यकारी अधिकृत रोमान कार्लाशले सुरक्षा कुनै एउटा सुविधा मात्र नभई निरन्तरको जिम्मेवारी भएको बताए । प्रविधि, विज्ञको सहयोग र स्थानीय ज्ञानको प्रयोगबाट यात्रु तथा चालकका लागि अझ सुरक्षित वातावरण बनाउन सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?